नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको छ। सो संवैधानिक व्यवस्था तथा सङ्घीय शासन प्रणालीअनुसार कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहत तेह्रथुम जिल्ला स्वास्थ्य कार्यालयले जिल्लास्तरीय स्वास्थ्य सेवा व्यवस्थापनमा प्रमुख भूमिका निर्वाह गर्दछ।
तेह्रथुम जिल्ला कोशी प्रदेशको पूर्वी पहाडी क्षेत्रमा अवस्थित छ, जहाँ २ नगरपालिका र ४ गाउँपालिका गरी जम्मा ६ स्थानीय तह तथा ४३ वटा वडा रहेका छन्। करिब ८८,७३१ जनसंख्या र ६७९ वर्ग किलोमिटर क्षेत्रफल भएको यो जिल्ला प्रदेशकै सबैभन्दा कम जनसंख्या भएको जिल्ला हो। यहाँको साक्षरता दर ८१.९ प्रतिशत रहेको छ भने करिब ३८.४१ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्दछ।
यस पृष्ठभूमिमा जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभित्र स्वास्थ्य सेवा तथा जनस्वास्थ्य कार्यक्रमहरूको योजना, कार्यान्वयन, समन्वय तथा अनुगमन गर्ने प्रमुख निकायको रूपमा कार्य गर्दछ।
मुख्य कार्य तथा जिम्मेवारीहरू
- स्थानीय तहहरूसँग समन्वय गरी आधारभूत स्वास्थ्य सेवाको प्रभावकारी प्रवाह सुनिश्चित गर्ने।
- स्वास्थ्य संस्थाहरूको नियमित सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने र आवश्यक प्राविधिक सुझाव प्रदान गर्ने।
- जिल्लामा आवश्यक स्वास्थ्य जनशक्तिको पहिचान तथा व्यवस्थापनमा सहजिकरण गर्ने।
- खोप, औषधि, उपकरण तथा अन्य स्वास्थ्य सामग्रीको आपूर्ति तथा भण्डारण व्यवस्थापन गर्ने।
- जनस्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने।
- महामारी, प्रकोप तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको तयारी, निगरानी र व्यवस्थापन गर्ने।
- स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने।
- सरकारी, निजी तथा सहकारी स्वास्थ्य संस्थाहरूसँग सहकार्य र समन्वय सुदृढ गर्ने।
- एकीकृत स्वास्थ्य सूचना प्रणाली अन्तर्गत तथ्यांक संकलन, विश्लेषण तथा व्यवस्थापन गर्ने।
- स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी समाधानका उपायहरू खोज्ने।
- स्वास्थ्य सेवाको पहुँच, उपयोग र गुणस्तर सुधार गर्न योजना निर्माण तथा कार्यान्वयनमा सहजिकरण गर्ने।
- स्वास्थ्य संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूको नियमन, अनुगमन तथा गुणस्तर सुनिश्चित गर्ने।
- संस्थागत तथा मानव संसाधनको प्राविधिक क्षमता अभिवृद्धि गर्ने।
- प्राथमिकतामा रहेका स्वास्थ्य कार्यक्रमहरू (क्षयरोग, कुष्ठरोग, मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन, खोप, पोषण, हात्तीपाइले, दादुरा-रुबेला, स्वास्थ्य बीमा आदि) सञ्चालन तथा समन्वय गर्ने।
- भेक्टर निगरानी, वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाइ तथा पेशागत स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्ने।
- जनसंख्या व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्ने।
- प्रदेश सरकार तथा स्वास्थ्य निर्देशनालयबाट प्राप्त नीति, निर्देशन तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने।
- बहुक्षेत्रीय समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्ने।
- कार्यालयको आन्तरिक प्रशासनिक, आर्थिक तथा व्यवस्थापकीय कार्य सञ्चालन गर्ने।